न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा २०७९ वैशाख १३ गते कपिलवस्तु जिल्लाको गोरुसिङेमा जिल्लास्तरिय कार्यक्रम सम्पन्न भयो । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा अतिथिका रुपमा न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य गिरु भण्डारी , नेपाल पत्रकार महासंघका लुम्विनी प्रदेश अध्यक्ष वसन्त गिरी , नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका पूर्व अध्यक्ष डिला भुषाल लगायतका रहनुभएको थियो । कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष किरणमान वज्राचार्यले गर्नुभएको थियो ।
श्रमजीवि पत्रकारले भोगिरहेका समस्या र समाधानका उपायका विषयमा आयोजित उक्त अन्र्तिक्रया कार्यक्रममा जिल्लाको अवस्थाबारे महासंघका कपिलवस्तु शाखाका पूर्व अध्यक्ष पत्रकार डिला भुषाललेले आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा अतिथिका रुपमा रहनुभएका पत्रकारिता क्षेत्र संग सम्बन्धित विभिन्न संघ संगठनका प्रतिनिधिले जिल्लाको अबस्थाको बारेमा धारणा राख्नुभएको थियो । कार्यक्रममा विषयवस्तु राख्दै समितिका सदस्य गिरु भण्डारीले श्रमजीवि पत्रकार ऐन कार्यान्वयनका लागि सबै सरोकारवाला निकायले यसलाई प्राथमिक एजेण्डाका रुपमा अघि बढाउन आवश्यक रहेको बताउनुभयो । कार्यक्रमका अतिथिहरुले जिल्लामा पत्रकारहरुले भोगिरहेको समस्या र ऐन कार्यान्वयनका लागि महत्वपूर्ण सुझाव राख्नुभएको थियो ।
अतिथिहरुको मन्तव्य पश्चात हलमा रहनुभएका पत्रकारहरुले आफ्नो भोगाई र आगामी दिनमा समितिले ऐन प्रभावकारी कार्यान्वयनका लागि चाल्नु पर्ने कदमका बारेमा सुझाव समेत राख्नुभएको थियो । कार्यक्रममा सहभागि महिला पत्रकारहरुले पारिश्रमिक लगायत अन्यसेवा सुविधामै पनि विभेद हुने गरेको समेत बताउनुभयो ।
कार्यक्रमका अतिथि नेपाल पत्रकार महासंघ लुम्विनि प्रदेश अध्यक्ष वसन्त गिरीले ऐन कार्यान्वयनका लागि समितिले प्रभावकारी रुपमा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिदै उक्त कार्यमा महासंघ हमेशा साथमा हुने प्रतिवद्धता जाहेर गर्नुभयो । मुलुकको शासन व्यवस्था नै पटक पटक बदलिदा पनि ऐन समय सापेक्ष परिमार्जनका बारेमा कहिल्यै बहश नभएको बताउदै ऐनमा भएका केही कमजोरी छन् भने त्यसमा पनि छलफल गरेर संशोधन गरि ऐनलाई पूर्ण कार्यान्वयन गरिनुपर्नेमा गिरीले जोड दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काले श्रमजीवि पत्रकारले भोगिरहेको समस्यालाई समाधान गर्न सबै सरोकारवाला निकायको साथ आवश्यक भएको बताउनुभयो । कार्यक्रममा उठेका जिज्ञासाको सम्बोधन गर्दै अध्यक्ष खड्काले श्रमजीवि पत्रकारले भोगिरहेको समस्या सधै मुद्धाको रुपमा मात्रै सिमित हुननहुने धारणा राख्दै सबै संग हातेमालो गर्दै अघि बढ्ने र समस्या समाधानका लागि अग्रपक्तिमा रहेर कामगर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
कार्यक्रमका वक्ताहरुले ऐन कार्यान्वयनका सन्दर्भमा दिनुभएको सुझावलाई समितिले विशेष महत्वका साथ लिने पनि प्रमुख अतिथि खड्काले बताउनुभयो ।
उहाँले नेपाली पत्रकारिताको विकासका लागि श्रमजीवि पत्रकारको हित पहिलो सर्त भएको बताउदै नेपाली पत्रकारहरुले भोगिरहेको समस्या समाधानका लागि सबैको साथमा समिति अघि बढ्ने धारणा राख्नु भयो ।