Government of Nepal

Ministry of Communications and Information Technology

Minimum Wages Fixation Committee

संचारमाध्यमलाई मजबुत बनाउन संचारमैत्री नीति ल्याउनुपर्छ: अर्घाखाँचीका पत्रकारहरु

अर्घाखाँची । सरकारले सञ्चारमाध्यमलाई मजबुत बनाउन सञ्चार मैत्री नीति ल्याउनुपर्ने र श्रमजीवि पत्रकार ऐन कार्यान्वयनमा कडाई गर्नुपर्ने अर्घाखाँचीका पत्रकारहरुले बताएका छन् । मिडियालाई बलियो बनाएर मात्र श्रमजीवि पत्रकार ऐन कार्यान्वयनको कुरा गर्न पनि पत्रकारहरुले सरकारलाई सुझाव दिएका हुन । जिल्लाका सञ्चारमाध्यमहरुले स्थानीय विज्ञापन नपाउने, कोभिडले आम्दानी घट्ने गरेका कारण पनि न्युनतम पारिश्रमिक दिन नसकेको समेत पत्रकारहरुले छलफलका क्रममा बिषायको उठान गरेका थिए ।

सरकारले स्थानीय सञ्चारमाध्यमहरुलाई बचाउन कुनै ध्यान नदिएको समेत पत्रकारहरुले गुनासो गरेका छन । सोमबार न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ अर्घाखाँचीको संयोजनमा अर्घाखाँचीको सन्धिखर्कमा भएको श्रमजीवि पत्रकार ऐन कार्यान्वयन र जिल्लाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले यस्तो बताएका हुन। समितिका सदस्य गिरु प्रसाद भण्डारीले सञ्चारकर्मिहरुले न्युनतम पारिश्रमिक निर्धारण समितिले तय गरे अनुरुप पाए नपाएको र जिल्लाको सञ्चार क्षेत्रको विषयमा जानकारी लिएका थिए ।

जिल्ला जिल्लामा पुगेर कार्यक्रम आयोजना गरिएको बताउँदै सदस्य भण्डारीले कोभिड–१९, का कारण प्रभावित भएका सञ्चारमाध्यम, सञ्चार गृह र सञ्चारकर्मिहरुलाई परेका गुनासाहरु लिएर सम्बन्धित निकायमा पेश गरी कार्यान्वयनमा लैजाने जानकारी दिए । सदस्य भण्डारीका अनुसार जिल्ला जिल्लामा पुगेर सञ्चारगृह र सञ्चारकर्मि सहभागी गराएर उनीहरुको समस्याको बारेमा बुझ्ने कार्य भइरहेको छ ।

सञ्चार क्षेत्र स्थापना गर्दा मापदण्ड कायम नभएकाले आम सञ्चारकर्मिहरु मारमा परेको उनको भनाई थियो । कार्यक्रममा सहभागीहरुको मिडिया स्थापनामा होडबाजी गर्ने प्रचलन बढ्दो रहेकोले ब्यवस्थापनमा जोड दिन आग्रह थियो । ऐनले सबैलाई तलब दिएको भएपनि खास पत्रकारले तलव नपाएको सहभागीहरुले गुनासो गरेका छन् । राज्यबाट पनि मिडिया प्रवद्र्धनमा लगानी नरहेको जनाउँदै उनीहरुले पुर्वाधार निर्माणलाई विकास ठान्ने तर मिडिया ब्यवस्थापन र प्रवद्र्धन विकास नठान्ने प्रवृत्तिले सञ्चार क्षेत्र कमजोर बन्दै गएको उल्लेख गरेका छन् ।

नेपाल पत्रकार महासंघ अर्घाखाँचीका पुर्व अध्यक्ष शोभाकर पन्थीले मिडिया सञ्चालक र मिडियाकर्मि विकृत हुँदा पत्रकारिताको धर्म मासिएको उल्लेख गरेका छन् । विचार बिनाको पत्रकारिता संभव नरहेको उल्लेख गर्दै उनले समानुपातिक विज्ञापन निति लागु हुने हो भने अहिलेका समस्या सबै समाधान हुने उल्लेख पन्थीले बताएका छन् । पत्रकारिता धर्म हो र कर्म हो भन्ने ठानेर ब्यक्ति भन्दा संस्थालाई जोगाउने कार्यक्रम मिडिया कर्मि लाग्ने हो भने न्युनतम पारिश्रमिक कार्यान्वयनमा समस्या नरहेको बताए । कार्यक्रममा सहभागी पत्रकार मुक्तिनाथ भुसालले प्रेस परिचय पत्र पाउनका लागि कुनै पनि मिडिया आफै खातामा पैसा राखिदिएर उनीहरुले तलव स्वरुप त्यहि पैसा बैंकमा जम्मा गरिदिने समेत प्रचलन रहेको बताए ।

जिल्लामा पत्रिका र रेडियोलाई मात्र विज्ञापन दिने तर अनलाइन सञ्चार माध्यमलाई विज्ञापन नदिने प्रचलनले आफूहरु मिडिया सञ्चालन गर्न कठिनाई भएको पत्रकार सन्तोष केसीले बताए । उनका अनुसार स्थानीय तहले आग्रह पुर्वाग्रह राखेर अनलाई सञ्चार माध्यमहरुलाई विभेद गरीएको छ ।

हरेक वर्ष यस्ताखाले अन्तरक्रिया कार्यक्रम सञ्चालन हुने गरेपनि कार्यान्वयनमा नआउनु दुखको विषय रहेको पत्रकार श्याम घिमिरेले जनाए । विद्युत महसुल तिर्न नसकेर समस्यामा गाँजिएका रेडियोले न्युनतम पारिश्रमिक उपलब्ध गराउनु सञ्चारहगृहलाई चुनौती रहेको बताए । राजनीतिले मिडिया गाँजेको उल्लेख गर्दै गोपाल प्रसाद भट्टराइले सुरुमा जसरी स्थापना गरीन्छ त्यसैगरी निरन्तरता नहुँदा मिडियाकर्मि समस्यमा रहेको उल्लेख गरे ।

कार्यक्रममा सहभागी जितेन्द्र खत्रीले जिल्लामा एकैखालको विज्ञापन निति नहुँदा आमसञ्चार माध्यम सञ्चालनमा समस्या रहेको उल्लेख गर्दै उनले मिडिया र मिडियाकर्मि दुबै चुनौतीका साथ समय गुजार्नुपरेको धाराणा राखेका छन् । कार्यक्रममा महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालको अध्यक्षता, सन्धिखर्क नगरपालिका नगर प्रमुख कमल प्रसाद भुषालको प्रमुख आतित्थ्यता, न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य गिरु प्रसाद भण्डारीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य राधा नेपाली, प्रमुख जिल्ला अधिकारी हरी प्रसाद घिमिरे, सन्धिखर्क नपाका उपप्रमुख ठाकुर कुमार बिक, प्रमुख प्रशासकिय अधिकृत नारायण अर्याल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

© copyright 2019 and all right reserved