Government of Nepal

Ministry of Communications and Information Technology

Minimum Wages Fixation Committee

श्रमजीवी पत्रकारका समस्या स्थायीरुपमा समाधान गर्नुपर्छः सञ्चारमन्त्री गुरुङ

श्रमजीवी पत्रकारका समस्या स्थायी रुपमा समाधान गर्नुपर्छः सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले श्रमजीवी पत्रकारले सधैँ तलब/सुविधा नपाएको गुनासो र आन्दोलन गर्नुपर्ने अवस्थालाई स्थायीरूपमा समाधान गर्नुपर्नेमा जोड दिएका छन् । आज सञ्चारग्रामस्थित प्रेस काउन्सिल नेपाल, न्यूनतम् पारिश्रमिक निर्धारण समिति र सूचना तथा प्रसारण विभागका कार्यालयको भ्रमण गर्दै उनले पत्रकारको पारिश्रमिकसम्बन्धी समस्याको दिगो समाधान खोजिने बताएका हुन् ।

पत्रकारलाई सरकारले तोकेको न्यूनतम् तलब÷सुविधा मिडियाले नदिएको भन्ने सुनेको छ” उनले भने, “नियामक संस्थाले पत्रकारले तलब पाएरनपाएको हेरेर मात्रै संस्था नवीकरण गर्नुपर्छ ।”पत्रकार र सिङ्गो आमसञ्चार क्षेत्र मर्यादित र व्यावसायिक बन्नुपर्ने बताउँदै उनले मिडियामा पछिल्लो समयमा सबै विषयलाई नकारात्मकरुपमा प्रस्तुत गर्ने प्रवृति बढेको जनाए । उनले ती निकायका काम प्रभावकारी र छिटो छरितोरुपमा सम्पादन गर्न निर्देशन समेत दिए ।मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले पत्रकार बन्न प्रवेश परीक्षा हुनुपर्ने बताउँदै  पत्रपत्रिका वर्गीकरणमा आउने गुनासोलाई प्रेस काउन्सिल नेपालले उचित सम्बोधन गर्नुपर्नेमा जोड दिए ।  न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले धेरै सञ्चार गृहले कोरोनाको बहानामा पत्रकार निकाल्ने वा तलब नदिने गरेको पाइएको बताउँदै  अझैसम्म अधिकांश मिडियाले सामाजिक सुरक्षा कोष लागू नगरेको जानकारी गराए । अर्यालले भने, “कतिपय संस्थाले २०÷२५ वर्ष काम गरेकालाई हटाएर नयाँ नियुक्ति गरेको पनि पाइन्छ । यसको समग्र अवस्थाबारे हामी अध्ययन गरिरहेका छौँ ।”

प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष गोपाल बुढाथोकीले कोभिड सङ्क्रमण फैलिरहँदा पनि काउन्सिलले आफ्नो कामलाई निरन्तरता दिएको बताए । काउन्सिलले अहिले पनि अनुगमन, मूल्याङ्कन र स्वमूल्याङकनलाई निरन्तरता दिएको उनको भनाइ छ ।

विभागका महानिर्देशक किरणराज शर्माले सेवाग्राहीले विभागमा पाइने सेवा र आवश्यक कागजातबारेमा वेभसाइटमा सूचना राखिएको बताए । उनले युट्युबलगायतका नयाँ मिडियालाई नियमन गर्ने कानून नभएपनि धेरै पीडित भएका उजुरी विभागमा आइरहेको बताए ।समाचार साभार: रातोपाटी डट कम बाट

https://ratopati.com/story/153286/2020/11/2/parbat-gurung?fbclid=IwAR2obqj4PK1fOnSjpXjEIgp-4_LjB4vVa2BdCK9cblGHucUASW8yh1kx45U

© copyright 2019 and all right reserved