Government of Nepal

Ministry of Communications and Information Technology

Minimum Wages Fixation Committee

पत्रकारको पेसागत सुरक्षा जोखिममा ः अध्यक्ष अर्याल

काठमाडौं– न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले कोरोना संकटका बेला पत्रकारको पेसागत सुरक्षा जोखिममा रहेको भन्दै साझा प्रतिबद्धता जनाउनुपर्ने बताउनुभएको छ ।
समितिका पूर्वसदस्य, पूर्व सदस्य सचिव तथा नेपाल पत्रकार महासंघका अध्यक्ष लगायत विभिन्न विदाका विज्ञसँग सूचना तथा प्रशारण विभागमा भएको आज भएको छलफलमा अध्यक्ष अर्यालले समितिले पत्रकारसम्बद्ध संघ संगठन र संचार उद्यमीहरुका संस्थासँग छलफल गरेर समस्या समाधानको बाटो पहिल्याउँदै गएको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले कतिपय सञ्चारमाध्यमले कोरोना संक्रमणको बहाना बनाएर श्रमजीवी पत्रकार,कर्मचारी र कामदारहरुलाई जागिरबाट निकाल्ने,वेतलबी विदामा बस्न बाध्य पर्ने र लामो समय सम्म तलब नदिने गरेको बताउनुभयो । २०–३० वर्ष घाटा नभएको मिडिया लकडाउन भएलगत्तै संकटग्रस्त हुन नसक्ने बताउँदै उहाँले बहाना देखाएर पत्रकारलाई तलब नदिने उद्यमीको घर घेराउ गर्ने चेतावनी दिनुभयो ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व सदस्य सचिव तथा सूचना तथा प्रशारण विभागका पूर्व महानिर्देशक बीरबहादुर राईले श्रमजीवी पत्रकारहरुको समस्या समाधानका लागि तत्कालिन र दीर्घकालीन उपाय खोज्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वसूचना आयुक्त यशोदा तिम्सिनाले दुनियाँलाई न्याय दिने पत्रकारहरु आफ्नो बारेमा भने बोल्न समेत डराउने गरेको बताउनुभयो । उहाँले धमाधम सञ्चार संस्था बन्द हुँदा विचार निर्माण गर्ने बुद्धिजीवी पनि चुपचाप बसेको भन्दै आश्चार्य व्यक्त गर्नुभयो ।
प्रेस काउन्सिलका सदस्यद्वय ईश्वरी ओझा र संगीता खड्का, नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष अनिता विन्दु, समितिका पूर्वसदस्य विनोद ढुंगेल, सञ्चारिका समूहका पूर्वअध्यक्ष निर्मला शर्माले नेपालमा मिडिया उद्योगका रुपमा विकास हुन नसकेको बताउनुभयो । नेपाल पत्रकार महासंघ, प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष शेखर अधिकारीले कतिपय सञ्चार प्रतिष्ठानहरुले नियत राखेरै पत्रकारलाई दुःख दिने, निश्कासन गर्ने गरेको भन्दै अब आउने दिन थप संकटपूर्ण रहेको धारणा राख्नुभयो ।

© copyright 2019 and all right reserved | Site By : SobizTrend Technology